जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्दचोकमा एक घरमा अचानक आगलागी हुँदा अवकाशप्राप्त शिक्षकको जलेर मृत्यु भएको छ ।
गए राति भएको उक्त दुर्घटनामा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ घर भई हाल रामानन्दचोकमा बस्दै आएका ७० वर्षीय पूर्वशिक्षक किशोरी सहनीको मृत्यु भएको हो। रातिको समयमा अचानक घरमा आगो सल्किँदा वृद्ध अवस्थाका सहनी बाहिर भाग्न नसकेर घरभित्रै थपिएका थिए ।
आगलागी सुरु हुनासाथ घरमा रहेकी उनकी नातिनीले भने भागेर ज्यान जोगाउन सफल भएकी छन्। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि सहनीलाई बचाउन सकिएन ।
प्राविधिक समस्या वा विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
