सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा मेनरोडस्थित एक होटलमा साथीको चक्कु प्रहार गरी हत्या गरेर फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा–२ पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन्। साथीलाई साङ्घातिक चक्कु प्रहार गरी भागेका राईलाई इलाका प्रहरी कार्यालय सिमराको टोलीले शनिबार राति जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानखेतमा लुकिछिपेको अवस्थामा पक्राउ गरेको हो ।
घटनामा जीतपुरसिमरा–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार साँझ ५ बजेतिर सिमरा मेनरोडमा रहेको सम्झना स्टाफ होटलमा खाजा खान बसेका बेला खड्कामाथि चक्कु प्रहार भएको थियो । खाजा खाने क्रममा बाहिरबाट आएका राई र खड्काबिच विवाद भएपछि राईले होटलकै भान्सामा रहेको मासु काट्ने चक्कु झिकेर खड्काको घाँटीमा प्रहार गरेका थिए ।
घाँटीमा गम्भीर चोट लागेका खड्कालाई तत्काल उपचारका लागि वीरगञ्ज पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक खड्काको शव हाल वीरगञ्जस्थित बयोधा मेडिसिटी हस्पिटलमा राखिएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा अन्य तीन जनालाई समेत पक्राउ गरेको छ भने सोधपुछका लागि होटल सञ्चालिका लाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार घटनाबारे थप अनुसन्धान तीव्र पारिएको छ ।
