रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात समूहले एक युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार गरेको छ । गोली लागेर गौर नगरपालिका–४ गढवा निवासी रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते भएका छन् ।
स्थानीयका अनुसार मङ्गलबार राति करिब ९:१५ बजे गढवा गाउँस्थित पानी ट्याङ्की नजिकै उभिरहेका यादवमाथि अज्ञात व्यक्तिले एक्कासि अन्धाधुन्ध गोली चलाएका थिए ।
सदरमुकाम क्षेत्रमै रातिको समयमा गोलीको आवाज गुञ्जियपछि स्थानीय बासिन्दामा त्रास फैलिएको थियो । घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाइते यादवलाई उद्धार गरी उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार गम्भीर घाइते यादव को हाल वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
चिकित्सकहरूले गरेको सिटी स्क्यान प्रतिवेदन अनुसार घाइते यादवको पिठ्युँमा दुई र हातमा एक गरी कुल तीन वटा गोली लागेको पुष्टि भएको छ ।
उनको शरीरका पाखुरा, हात र पिठ्युँका विभिन्न भागमा गोलीका गम्भीर घाउहरू रहेका छन् । घाइतेको अवस्था चिन्ताजनक रहे पनि उनी चिकित्सकहरूसँग कुराकानी गर्न सक्ने होसमै रहेको प्रहरीले जनाएको छ ।
युवकमाथि कुन समूहले र के कति कारणले गोली प्रहार गर्यो भन्ने विषयमा हालसम्म केही खुल्न सकेको छैन । घटनाको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले घटनास्थल पुगेर सुक्ष्म अनुसन्धान सुरु गरिसकेको छ ।
डीएसपी गौतमले सम्भावित आक्रमणकारीहरूको पहिचान गर्न र उनीहरू भाग्न सक्ने नाकाहरूमा कडा सुरक्षा जाँच तथा खोजी कार्य तीव्र पारिएको जानकारी दिएका छन् ।
