वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौ महिनामा रु २३ अर्ब ४६ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार भदौ ३१ गतेसम्मको एक महिनाको अवधिमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व संकलन भएको हो ।
यो संकलन कार्यालयलाई उक्त महिनाका लागि दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत प्रगति हो । भदौ महिनाको सुखद संकलनसँगै चालु आर्थिक वर्षको कुल वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत प्रगति हासिल भइसकेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।
मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तुका रूपमा रहेका छन् । भदौ महिनामा बिस्कुट आयातबाट मात्रै करिब रु १ अर्ब ७८ करोड र विभिन्न प्रकारका दलहन आयातबाट रु १ अर्ब ४६ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्षको सुरुवाती महिनाको आयात–निर्यात व्यापारको प्रवृत्तिलाई हेर्दा भन्सार कार्यालयले राजस्व असुलीलाई लक्ष्यको निकै नजिक पुर्याउन सफल भएको देखिन्छ। भदौ ३१ गते एकै दिनमा मात्रै रु ४४ करोड ७२ लाख ५० हजार राजस्व संकलन भएको थियो ।
उक्त दिन रु ५८ करोड २४ लाख दैनिक संकलनको लक्ष्य राखिएकोमा ७६.७९ प्रतिशत प्रगति हासिल भएको थियो भने जाँच पास भएका प्रमुख २० वस्तुबाट मात्रै रु ४१ करोड ८३ लाख राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ ।
