काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आज (असोज ३ गते) देखि देशभर सुरु हुने भएको छ । असोज ३ र ४ गते सञ्चालन हुने वडा अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन काङ्ग्रेसले आग्रह गरेको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको पूर्वघोषित निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुँदै छ । सोही महाधिवेशनको पहिलो खुड्किलोका रूपमा रहेको वडा तहको निर्वाचन सम्पन्न गर्नका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूले पार्टीका स्थानीय तथा जिल्लास्तरीय जिम्मेवार पदाधिकारीहरूसँग आवश्यक छलफल गरी प्रत्येक वडामा मतदान अधिकृत खटाउनेलगायतका सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरिसकेका छन् ।
यसैबिच, केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका सम्बन्धमा फैलन सक्ने कुनै पनि किसिमका अफवाह तथा भ्रामक सूचनाको पछि नलाग्न अपिल गरेको छ । निर्धारित असोज ३ र ४ गते नै अधिवेशन सम्पन्न हुने स्पष्ट पार्दै समितिले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई प्रक्रियामा सक्रिय र अनुशासित रूपमा सहभागी हुन अनुरोध गरेको छ ।
