काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई वटा महत्त्वपूर्ण खेलहरू हुँदैछन् । अंक तालिकाको समीकरणमा ठूलो प्रभाव पार्ने आजका दुवै खेलमा टोलीहरू स्पष्ट जितको लक्ष्यका साथ मैदान उत्रनेछन् ।
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स बिच प्रतिस्पर्धा हुनेछ। हालसम्म चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारको नतिजा निकालेको छ। पाँचौँ खेल खेल्न लागेको सुदूरपश्चिमलाई प्लेअफको यात्रा सुनिश्चित र बलियो बनाउन आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।
यता, तीन खेल खेलेको कर्णाली याक्सले एक जित र दुई हार बेहोर्दै तालिकामा अंक जोडेको छ । चौथो खेल खेल्न लागेको कर्णाली पनि सुदूरपश्चिमलाई हराउँदै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने रणनीतिमा हुनेछ ।
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै ३ अंक जोडेको छ। तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको चितवनका लागि पनि शीर्ष टोलीहरूसँगको दूरी घटाउन आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ ।
अर्कोतर्फ, पोखरा एभेन्जर्स भने जारी प्रतियोगितामा आफ्नो पहिलो जितको तीव्र खोजीमा छ । यसअघि खेलेका खेलहरूमा अपेक्षित नतिजा निकाल्न नसकेको पोखरा आज चितवनलाई पछाडि पार्दै जितको खाता खोल्ने दाउमा मैदान प्रवेश गर्नेछ ।
