पर्सा । वीरगञ्जमा अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको ११ लाख रुपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँबाट भन्सार छलेर भित्र्याइँदै गरेको उक्त कपडाहरू नियन्त्रणमा लिएको हो । सीमावर्ती क्षेत्रबाट अवैध ओसारपसार बढेको जनगुनासो आएपछि प्रहरीले विशेष निगरानी तथा गस्ती बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार बरामद गरिएका कपडाहरूको कुल बजार मूल्य ११ लाख २ हजार १४० रुपैयाँ बराबर रहेको छ ।
बरामद गरिएका सम्पूर्ण लत्ताकपडाहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको र अवैध चोरी-पैठारीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
