वीरगञ्ज । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा–आराधना गरी आज गणेश चतुर्थी (गणेश जन्मोत्सव) पर्व मनाइँदै छ ।
यस अवसरमा बिहानैदेखि वीरगञ्जलगायत देशभरका मुख्य-मुख्य गणेश मन्दिर एवं शिवालयहरूमा पूजा–अर्चनाका लागि भक्तजनको ठुलो लाम लागेको छ ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको धार्मिक तथा शास्त्रीय मान्यता छ । यस अवसरमा काठमाडौँ उपत्यकाका चार विनायक (ओकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक) र कमलादी गणेश मन्दिरका साथै देशैभरका गणेश मन्दिरहरूमा विशेष पूजा-आराधना भइरहेको छ ।
यसैक्रममा पर्साको वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिर प्राङ्गणमा गणेश चतुर्थीको अवसर पारेर आजदेखि विशेष भजन(कीर्तन तथा धार्मिक अनुष्ठानको आयोजना गरिएको छ।
शिव(पार्वतीका सुपुत्र गणेशलाई जुनसुकै धार्मिक तथा शुभ कार्यमा सर्वप्रथम पूजा गरिने परम्परा छ । हरितालिका तीजको व्रत पारायण गरी जीवनमा कुनै विघ्न-बाधा नआओस् भन्ने कामनासहित चतुर्थीका दिन गणेशको व्रत र पूजा गर्ने विधान रहेको धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईले जानकारी दिए ।
नेवार समुदायले यस दिनलाई ‘चथा’ पर्वका रूपमा मनाउँदै बालबालिकालाई ‘छुस्यामुस्या’ (भुटेको मकै, भटमास र चामलको मिश्रण) बाँड्ने परम्परा छ । यस वर्ष यो पर्व मङ्गलबारकै दिन परेकाले यसको धार्मिक महत्त्व अझ बढेको छ ।
