वीरगन्ज २९ भदौ । वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टको गोल्डेन फिंगर क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको भिडियो सार्वजनिक भएपछि क्यासिनो सञ्चालनको नियमनमाथि गम्भीर प्रश्न उठेको छ। भिडियोमा पर्साका दुई गाउँपालिका अध्यक्ष, एक प्रहरी निरीक्षक र अन्य नेपालीहरू जुवा खेलिरहेको देखिन्छन्। भिडियो सार्वजनिक भएपछि प्रहरीले एक गाउँपालिका अध्यक्षसहित केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। तर, सोही भिडियोमा देखिएका जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी भने पक्राउ परेका छैनन्। क्यासिनो सञ्चालकमाथि समेत अहिलेसम्म प्रभावकारी कारबाही नभएको भन्दै प्रश्न उठेको छ।
भिडियोमा कालो क्याप लगाएका एक व्यक्ति पनि जुवा खेलिरहेको देखिन्छन्। उनी जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी भएको दाबी गरिएको छ। गत भदौ २० गते प्रहरीले यही भिडियो तथा सूचनाका आधारमा क्यासिनोमा छापा मारेको थियो। एउटै भिडियोमा जुवा खेलिरहेको देखिएका व्यक्तिमध्ये केहि पक्राउ पर्छन् भने एक व्यक्ति पक्राउ पर्दैनन् जस्ले जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीमाथि अनुसन्धान किन अघि बढेन भन्ने प्रश्न उठेको छ ।
यसबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले छापामारी गरेको र भिडियोमा देखिएका अध्यक्ष भरार भएको स्वीकार गरेका छन् । प्रहरीका अनुसार चौधरीमाथि पनि आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ। तर भिडियो सार्वजनिक भएको अवस्थामा हालसम्म उनी पक्राउ नपर्नु र अनुसन्धान अघि नबढ्नुले प्रहरीको कारबाहीमा समानताको विषय उठाएको छ।
क्यासिनो सञ्चालकमाथि कारबाही खोइ :
कानुनी व्यवस्थाले नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न रोक लगाएको अवस्थामा प्रश्न केवल जुवा खेल्ने व्यक्तिमाथि मात्र होइन, नेपालीलाई क्यासिनोभित्र प्रवेश गराएर जुवा खेलाउने सञ्चालकमाथि पनि उठ्छ।
२०८२ असार ३० मा नेपाल राजपत्रमा जारी भएको क्यासिनो नियमावली तथा २०८० चैत ३० मा जारी भएको सम्पक्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने जारी भएको ऐनमा नेपाली प्रवेश गरि जुवा खेलेको पाइएमा सम्बन्धीत क्यासिनोको इजाजतपत्र खारेज गर्ने व्यवस्था गरेको छ ।
तर, गोल्डेन फिंगर क्यासिनोमा नेपाली नागरिक जुवा खेलिरहेको भिडियो सार्वजनिक हुनुका साथै प्रहरीले छापा मारेर व्यक्तिहरूलाई नियन्त्रणमा लिइसक्दा पनि क्यासिनो सञ्चालकमाथि अहिलेसम्म के कारबाही भयो भन्ने प्रश्न अनुत्तरित छ।
क्यासिनो सञ्चालक अनिश भनिने गोकर्ण लामिछानेसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन चाहेनन्।
यसबारेमा पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी सुरज घिमिरेसगँ प्रशन गर्दा गोल्डेन फिंगर क्यासिनोमा नेपालीहरु जुवा खेलिरहेको एभिन्डस सहित स्पस्टीकरण बारण सहित मागिएको बताएका छन् । नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाएकोमा जुवा एन अनुसार कारवाहि हुन्छ । जरीवाना वा लाइसेन्स समेत खारेज हुन सकने उहाँले बताएका छन् ।
पर्यटन विभागको जिम्मेवारी क्यासिनोको इजाजत, सञ्चालन र कानुनी मापदण्डको अनुगमन गर्नु पनि हो। तर एउटै क्यासिनोमा नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा प्रहरी पुगेर मानिस पक्राउ गरिसकेको घटनामा समेत सञ्चालकमाथि कारबाही प्रक्रिया कहाँ पुग्यो भन्ने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
एउटै लगानीकर्ताको अर्को क्यासिनोमा पनि नेपाली पक्राउ
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ स्थित होटल लेमन ट्रीमा सञ्चालित क्यासिनोमा समेत गोकर्ण लामिछानेको लगानी रहेको दाबी गरिएको छ।
गत चैत ३ गते प्रहरीले उक्त क्यासिनोमा छापा मार्दा १३ जना नेपाली जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको घटना पनि सार्वजनिक भएको थियो।
एउटै लगानीकर्तासँग सम्बन्धित क्यासिनोमा पटक–पटक नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नु, तर क्यासिनो सञ्चालकमाथि प्रभावकारी कारबाही नहुनुले नियामक निकायको अनुगमन र कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ।
कानुन सबैका लागि समान हो भने अनुसन्धान र कारबाही पनि सबैमाथि समान रूपमा हुनुपर्ने स्थानीयको माग छ।
