जनकपुरधाम । वीरगञ्जबाट भन्सार छली गरी भारतबाट भित्र्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि, लत्ताकपडा तथा पशुचौपाया बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२५ खाल्वाबाट २ लाख ३१ हजार ६०४ रुपैयाँ मूल्यका विभिन्न प्रकारका औषधि बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका ती औषधि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली गरी ल्याउँदै गरेको ५ लाख ५९ हजार ८२० रुपैयाँका विभिन्न प्रकारका लत्ताकपडासंगै २ लाख ५० हजार रुपैयाँ पर्ने भैँसी र १० हजार रुपैयाँ मूल्यको एउटा खसीसमेत नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लले जनाए ।
उनका अनुसार दुवै घटनाबाट बरामद गरिएका औषधि, लत्ताकपडा तथा पशुचौपायाको कुल मूल्य १० लाख ५१ हजार ४२४ रुपैयाँ रहेको छ । बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।
