वीरगञ्ज । स्रोतनखुलेको गैरकानुनी भारतीय रुपैयाँसहित वीरगञ्जबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट ४ लाख ५० हजार भारतीय रुपैयाँसहित ५५ वर्षीय भारतीय नागरिक अशोक कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको टोलीले भारतबाट वीरगन्जतर्फ आउँदै गरेको द्यच्ण्टब्त् टद्धद्धछ नम्बरको मोटरसाइकललाई शङ्का लागी रोकेर जाँच गर्दा उक्त रकम फेला परेको हो ।
पक्राउ पर्ने कुमार भारतको बिहार राज्य, पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, पलानवा थाना वडा नं. १० का बासिन्दा हुन् । उनले चलाएको मोटरसाइकलको डिक्कीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ५ सय दरका ८९१ थान, २ सय दरको १ थान र १ सय दरका ४ थान गरी कुल ४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद भारतीय रुपैयाँको कानुनी स्रोत खुलाउन नसकेपछि कुमारलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ । उनलाई विदेशी विनिमय नियमित गर्ने ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
