चितवन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु २ ख ६०३६ नम्बरको अर्को बसले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
शनिबार बिहान करिब ६:५० बजे भएको दुर्घटनामा दुवै बसका चालक तथा यात्रुहरूसहित १८ जना घाइते भएका छन्। दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) र पुरानो मेडिकल कलेज पठाएको छ ।
प्रहरीका अनुसार पुरानो मेडिकल कलेज भरतपुरमा कालिकोट तिलागुफा–३ का ३६ वर्षीय धनमान हमाल, गैँडाकोट–५ की ६० वर्षीया लीला थापा, बारा कलैया–९ का ६० वर्षीय मोहन भैया साह, भरतपुर–२ की ३१ वर्षीया निशा तिवारी र उनका ८ वर्षीय छोरा ऐट्रेन भट्टको उपचार भइरहेको छ ।
सोही अस्पतालमा दाङका ५५ वर्षीय निमलाल खड्का, उनकी ५५ वर्षीया श्रीमती अमृता खड्का, रुपन्देही मायादेवी–६ का ५७ वर्षीय मनोज गुरुङ, उनकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ, गैँडाकोट–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट र गैँडाकोट–६ की ४३ वर्षीया मिरा आचार्यको पनि उपचार भइरहेको छ।
यसैगरी, चितवन मेडिकल कलेज ९सिमोनरनयाँ मेडिकल कलेज०मा ठक्कर दिने बसका चालक भरतपुर–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङसहित गैँडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल, गैँडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखाका ३५ वर्षीय शङ्कर बयलकोटी, गैँडाकोट–२ की ३८ वर्षीया सीता ज्ञवाली, सोही ठाउँकी ११ वर्षीया जस्विन ज्ञवाली र रत्ननगर–२ चितवनकी १० वर्षीया दिभा रानाभाटको उपचार भइरहेको छ ।
दुर्घटनाका कारण केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि ठक्कर दिने सवारीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
