काठमाडौं । ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने मूल नाराका साथ आज देशभर विविध कार्यक्रम गरी विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ। विश्वभर बढ्दो आन्तरिक तथा बाह्य प्रवासनसँगै नेपालमा पनि बाढी, पहिरो, प्राकृतिक विपद् र अवसरको खोजीमा हुने बसाइसराइलाई लक्षित गर्दै यस वर्षको नारा तय गरिएको हो ।
दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बसाइसराइका क्रममा मानिसहरूले अनिश्चित जीवनशैली, आधारभूत स्वास्थ्य सेवाको अभाव, जोखिमपूर्ण यात्रा, मानसिक तनाव र विविध शारीरिक तथा मनोवैज्ञानिक समस्या भोग्नुपर्ने औँल्याएको छ ।
जोखिमपूर्ण यात्राका क्रममा डिहाइड्रेसन, आघातजन्य चोटपटक, कुपोषण र दुर्व्यवहार जस्ता जटिलता देखिने भएकाले यस्ता परिस्थितिमा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले जीवन रक्षाका लागि निर्णायक भूमिका निर्वाह गर्ने रेडक्रसको भनाइ छ ।
विज्ञप्तिमा हालै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले अग्रपङ्क्ति मा खटिएर प्राथमिक उपचार, मनोवैज्ञानिक परामर्श तथा आपत्कालीन सहायता प्रदान गरेको स्मरण गराइएको छ। महामारी, दुर्घटना र विपद्का बेला प्राथमिक उपचारको महत्त्व झनै बढेर गएको रेडक्रसले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकार, सुरक्षा निकाय, संयुक्त राष्ट्रसङ्घीय नियोग तथा विभिन्न साझेदार संस्थाहरूसँगको समन्वयमा प्राथमिक उपचारसम्बन्धी प्रवर्द्धनात्मक तालिम सञ्चालन गर्दै आएको छ ।
रेडक्रसले ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता’ भन्ने अभियानलाई सार्थक बनाउन आम नागरिक र सरोकारवाला निकायसँग आह्वान गर्दै मानवीय सेवामा समर्पित सम्पूर्ण स्वयंसेवक तथा प्रशिक्षकहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ ।
