वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले बुधबार पथलैया–वीरगञ्ज सडकखण्डमा प्रदर्शन गरेका छन्।
स्थानीयवासीले सडकमा टायर बालेर प्रदर्शन गर्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका हुन् । प्रदर्शनका कारण केही समय पथलैया–वीरगञ्ज सडकखण्डको यातायातसमेत प्रभावित भएको थियो।
गरिमा साउन ३१ गते बिहान घरअगाडिबाट हराएकी थिइन्। परिवार तथा स्थानीयवासीले खोजी गरे पनि तत्काल फेला पार्न नसकेकी उनको शव मंगलबार साँझ घरदेखि करिब ५० मिटर टाढा भक्ति टोलस्थित एक सुनसान घरभित्र फेला परेको थियो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार ना।१ ज ७७५८ नम्बरको म्याजिक गाडीका करिब १६ वर्षीय सहचालक सुमन थापा र म्याजिकका धनी जीतपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोगेस चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बालिकालाई चकलेटको प्रलोभन देखाएर म्याजिकका सहचालक थापाले यौन हिंसा गरी हत्या गरेको खुलेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालिकाको शव सुनसान घरमा फेला परेपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले घटनाको निष्पक्ष तथा गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
स्थानीयवासीले घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै बालबालिकाको सुरक्षा र स्थानीय क्षेत्रमा प्रहरी निगरानीलाई थप प्रभावकारी बनाउनसमेत माग गरेका छन् ।
