काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट स्पष्ट बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ । गत साउन २९ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका भट्टले आज आयोजित प्रदेश सभा बैठकमा विश्वासको मत लिनुभएको हो ।
कुल ५१ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री भट्टको पक्षमा ३१ वटा मत खसेको छ, जसमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० र नेकपा (एमाले) का ११ सांसदले उहाँलाई समर्थन गर्दै मतदान गरेका छन् ।
यस सरकारलाई समर्थन गर्ने क्रममा नेकपाका विभिन्न धारबाट प्रतिनिधित्व गर्ने सांसदहरू तथा अन्य घटकहरूको पनि साथ रहेका छन । यता, प्रतिपक्षको रूपमा नेपाली कांग्रेसले १७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ मत दिँदै विपक्षमा मतदान गरेका छन् ।
प्रदेश सभामा विभिन्न कारणले केही पद रिक्त तथा निलम्बित रहेका बेला मुख्यमन्त्री भट्टले आवश्यक बहुमत सफलतापूर्वक जुटाउनुभएको हो ।
