काठमाडौं । विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूले भोगिरहेका समस्याबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज (अगस्ट ९) विविध कार्यक्रमका साथ ३२औँ विश्व आदिवासी दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने ऐतिहासिक निर्णय गरेको थियो । सन् १९८२ मा जेनेभामा राष्ट्रसङ्घीय ‘आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूह’को पहिलो बैठक यही दिन बसेकाले यसै अवसरलाई दिवसका रूपमा छनोट गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार विश्वका ९० भन्दा बढी मुलुकमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन् । उनीहरू विश्वको कुल जनसङ्ख्याको छ प्रतिशतभन्दा कम रहे तापनि विश्वका पछाडि पारिएका र गरिब समुदायको कम्तीमा १५ प्रतिशत हिस्सा ओगट्छन् ।
विश्वभर बोलिने अनुमानित सात हजार भाषामध्ये अधिकांश भाषा र करिब पाँच हजार फरक संस्कृतिको प्रतिनिधित्व आदिवासी समुदायले नै गर्दै आएका छन् । पुस्तौँदेखि आफ्ना विशिष्ट संस्कृति, परम्परा, मातृभाषा र प्रकृतिसँगको जैविक सम्बन्धलाई जोगाउँदै आएका उनीहरूको सामाजिक, आर्थिक तथा राजनीतिक जीवनशैली बहुसङ्ख्यक समाजभन्दा भिन्न र मौलिक मानिन्छ ।
पुख्र्यौली भूमि, प्राकृतिक स्रोतसाधनमाथिको स्वामित्व र सांस्कृतिक पहिचानको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । इतिहासका विभिन्न कालखण्डमा अधिकारबाट वञ्चित गरिएका उनीहरू आज पनि विभेद र जोखिममा रहेको राष्ट्रसङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायले उनीहरूको मौलिक संस्कृति र अधिकार संरक्षणका लागि विशेष उपाय अपनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएको छ । यो दिवसले आदिवासी जनजातिको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै उनीहरूको आत्मसम्मान र अधिकार रक्षाका लागि राज्य, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई पुनः प्रतिबद्ध हुन घच्घचाएको छ ।
