वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिरनजिक भारतीय ट्रेलर ट्रकले पाँच वटा सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
शुक्रबार राति करिब १० बजे हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको एचआर ६९ डी ७९६९ नम्बरको भारतीय ट्रेलर ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा गई अनियन्त्रित भएर पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका पाँच वटा सवारीसाधनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
ट्रेलरको ठक्करबाट ना.१ ज ६८८१ नम्बरको कार (ट्याक्सी), लु.प्र.०१–००१ च ०१२४ नम्बरको भ्यान, बा.१७ च ७७८३ नम्बरको ओम्नी भ्यान, ना.४ च ५३३४ नम्बरको योद्धा पिकअप र बा.प्र.०३–००१ ज ३६२ नम्बरको ईभी गाडीमा क्षति पुगेको छ।
प्रहरीका अनुसार ट्याक्सीको अगाडिको भागमा क्षति पुगेको छ भने भ्यानको अगाडि र पछाडिको भागमा क्षति भएको छ। यस्तै, ओम्नी भ्यानको अगाडिको भाग कुच्चिएको, योद्धा पिकअपको बायाँ भागमा क्षति हुनुका साथै अगाडिको सिसा फुटेको र ईभी गाडीको अगाडिको भागमा क्षति पुगेको छ। दुर्घटनापछि भारतीय ट्रेलरका चालक घटनास्थलबाट फरार भएका छन्। दुर्घटनाका कारण केही समय सडक एकतर्फी रूपमा सञ्चालन भएको थियो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले क्रेनको सहयोगमा ट्रेलर हटाउनुका साथै दुर्घटनामा क्षतिग्रस्त अन्य सवारीसाधनलाई समेत घटनास्थलबाट प्रहरी कार्यालयतर्फ ल्याएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार शनिबार बिहान करिब २ बजे सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको थियो। दुर्घटनामा संलग्न ट्रेलर चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
