वीरगञ्ज । विश्व हिन्दू परिषद्को अगुवाईमा हनुमान जन्मोत्सवको अवसर पारेर वीरगञ्जमा आयोजना हुन लागेको बृहत् शोभा यात्रा यही २१ गते शनिबार दिउँसो १ बजे निकालिने भएको छ।
धार्मिक महत्त्व बोकेको उक्त शोभा यात्रा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बाट सुरु हुने छ भने यसको मुख्य नेतृत्व श्री गहवामाई तिर्थ क्षेत्र विकास समितिले गर्ने जनाइएको छ।
कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन संयोजक ओशन गुप्ताको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ। उहाँकै नेतृत्वमा वीरगंजका विभिन्न हिन्दू संघ–संस्थाहरू एकताबद्ध भई कार्यक्रम सफल बनाउन जुटेका छन्।
“मम दिक्षा हिन्दू रक्षा: मम मन्त्र समानता” भन्ने मूल नाराका साथ आयोजना हुने यस यात्रामा बुद्धिजीवी, युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमबारे जानकारी दिँदै डा। पुरुषोतम दुबेले यो यात्रा वीरगंजको इतिहासमै एक महत्वपूर्ण धार्मिक कार्यक्रमका रूपमा रहने बताउनुभयो। उहाँका अनुसार समाजका विभिन्न वर्गको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ भव्य र अनुशासित बनाउनेछ।
यसैबीच समितिका सचिव लक्ष्मीनारायण गुप्ताले प्रेस विज्ञप्तिमार्फत माईस्थानबाट सुरु हुने उक्त शोभा यात्रामा सहभागी हुन सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई आह्वान गर्नुभएको छ। साथै, कार्यक्रमको सुरक्षा र व्यवस्थापनका लागि स्वयंसेवकहरू परिचालन गरिसकिएको जानकारी पनि दिइएको छ।



