वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ३९ किलो २५० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार शनिबार राति करिब ११ः५५ बजे विन्दवासिनी गाउँपालिका–४ मधवल क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको चेकजाँच तथा निगरानीका क्रममा उक्त पदार्थ बरामद गरिएको हो ।
वि।ओ।पी। अमरपट्टी, वि।ओ।पी। प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीबाट संयुक्त रूपमा खटिएको टोलीले इटियाहीबाट मधवलतर्फ आउँदै गरेका व्यक्तिहरूमाथि निगरानी गरिरहेको थियो ।
प्रहरी टोलीलाई देखेपछि उनीहरूले तीन वटा मोटरसाइकल र तीन वटा झोला झाडीमा फालेर भाग्ने प्रयास गरेका थिए । संयुक्त टोलीले उनीहरूमध्ये एक जनालाई नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद झोला जाँच गर्दा ३९ किलो २५० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको थियो । घटनास्थलबाट तीन वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति, बरामद पदार्थ तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ ।
