काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका प्रमुख नदीहरूको जलस्तर हाल सतर्कता तहभन्दा तलै रहेको छ । महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता ठूला नदीहरूमा तत्काल बाढीको ठूलो खतरा देखिएको छैन ।
त्यस्तै, ठूला नदीका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ ।
प्रमुख नदीहरू शान्त रहे तापनि देशका विभिन्न ३९ जिल्लाका साना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको मध्यम जोखिम कायमै रहेको छ ।
महाशाखाका अनुसार झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ र सङ्खुवासभाका साना नदीहरूमा जलस्तर उल्लेख्य बढ्ने सम्भावना छ। यसैगरी काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर, ललितपुर) सहित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दीका साना खोलाहरूमा पनि बहाव तीव्र हुन सक्नेछ ।
त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीका साना नदीहरूमा एक्कासि बाढी आउन सक्ने महाशाखाको भनाइ छ ।
आगामी दुई दिन (साउन २६ र २७ गते) सम्म पनि विशेष गरी कोशी र गण्डकी प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
तटीय क्षेत्र तथा साना नदी किनारामा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक सावधानी सजगतापूर्वक पालना गर्न बाढी पूर्वानुमान महाशाखाले विशेष अनुरोध गरेको छ ।
