महोत्तरी । महोत्तरीको बर्दीबास–३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले ९७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबास र इलाका प्रहरी कार्यालय बर्दीबासको संयुक्त टोलीले सवारी चेकजाँचका क्रममा उक्त लागुऔषध बरामद गरेको हो।
गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.५ ख १८९८ नम्बरको हायस गाडीलाई रोकी चेकजाँच गर्दा चालक नजिकैको सीटमा बसेका सिराहा मिर्चैया नगरपालिका–६ का २४ वर्षीय रोहित महतोको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो बर्दीबासका प्रमुख सरोज अधिकारीका अनुसार तलासीका क्रममा महतोले लगाएको खैरो रंगको हाफ कट्टु भित्र लुकाइछिपाइ राखिएको सेतो प्लास्टिकमा प्याक गरिएको अवस्थामा लागुऔषध भेटिएको हो ।
बरामद पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १०२ ग्राम २५० मिलिग्राम र शुद्ध तौल ९७ ग्राम १६० मिलिग्राम रहेको पाइएको अधिकारीले बताए। “बर्दीबास क्षेत्रमा अहिलेसम्म बरामद गरिएको यो सबैभन्दा ठूलो परिमाणको ब्राउन सुगर हो,” प्रमुख अधिकारीले बताए।
पक्राउ परेका महतोसहित बरामद ब्राउन सुगरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दीबासमा बुझाइए को छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।
यसअघि पनि भदौ ८ र १७ गते लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बीपी राजमार्गकै विभिन्न स्थानबाट ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो।
