मो.तन्वीर आलम, रौतहट । रौतहट प्रहरीले तरकारीको पिकअपमा राखिएको ठुलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । शनिबार राति करिब साढे सात बजेको समयमा प्रहरी चौकी रामपुरखापबाट प्रहरी सहायक निरीक्षक अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी टोलीले रौतहटको इशनाथ नगरपालिका वडा नं. ८ मोतिपुर सडकखण्डमा चेकजाँच गर्ने क्रममा तरकारीको पिकअप गाडीमा लुकाएर राखिएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रदेश-३-०१-०२२ च १८६१ नम्बरको पिकअप भ्यानमा माथिबाट २० पोका फुलकाउली तरकारी राखेर तल २६ पोका गाँजा लुकाइएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनु भएको छ ।
मोतीपुर तर्फबाट जटहरा तर्फ गईरहेको पिकअप भ्यान चालकले प्रहरी गस्तीटोलीलाई देखेर गाडी छोडि फरार भए पछि शंका लागेर चेकजाँच गर्दा गाडीमा तरकारीको तल गाँजा लुकाएर राखिएको अवस्थामा बरामद भएको प्रहरीले बताएको छ । लामो समयदेखि रोकिएको गाँजा तस्करी फेरि सक्रिय बनेको यस घटनाले स्पष्ट गरेको छ ।
बरामद भएको १५ केजीको १९ पोका र ७ केजीको ७ पोका गरि कुल २६ पोकामा ३ क्विन्टल ३४ केजी गाँजा र पिकअप गाडी प्रहरीको नियन्त्रणमा रहेको छ भने फरार चालक र संलग्न तस्करको खोजी कार्य भईरहेको डिएसपी कार्कीले बताउनु भएको छ ।
