धनुषा । धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सिमानामा पर्ने मुडिया सराबे नजिकै हुलाकी राजमार्गमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटना बिहान करिब ३ बजेतिर भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, अनटेस्ट नम्बर प्लेट भएको मोटरसाइकलमा तीन जना सवार थिए । उनीहरू जन्तीबाट फर्किँदै गरेको बुझिएको छ । मृतक धनुषाको शहीदनगर नगरपालिका–८ बिसरभोरा निवासी एक युवक हुन् । सोही वडाको नाथपट्टी टोलका अन्य दुई युवक गम्भीर घाइते भएका छन् । घाइतेहरूको नाम भने प्रहरीले खुलाएको छैन ।
तीव्र गति र मादकपदार्थ सेवनका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले सडकछेउमा दुर्घटनाग्रस्त मोटरसाइकल र घाइतेहरूलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरूलाई तत्काल जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको थियो । अस्पताल पु¥याएपछि चिकित्सकले एक जनालाई मृत घोषणा गरेका थिए । धनुषा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
