काठमाडौं । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइन्छ । सन् २०१९ अक्टोबर १५ मा राष्ट्रसङ्घ महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय गरेको हो ।
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्कोे) को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो ।
विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।
जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिले सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्सा हो भन्ने विषयलाई स्वीकार गरेको थियो । यो अधिकारका मुख्य दुई आयाम छन् । पहिलो राज्यलाई सीमित अवपादबाहेकका सूचना दिने दायित्व र सार्वजनिक हितका सूचना स्वतः प्रकाशित गर्ने ।
संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यको सूचकाङ्कले पनि सूचनाको हकसम्बन्धी प्रभावकारी कानुन निर्माण तथा कार्यान्वयन गर्ने जिम्मेवारी तोकेको छ । विशेषगरी ग्रामीण क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र पिछडिएका समुदायमा सूचनाको हकका बारेमा अझै पर्याप्त जानकारी र चेतना पुग्न बाँकी छ ।
आयोग, सूचनाको हकका अभियानकर्मी तथा आमसञ्चारमाध्यमबाट सूचना प्रवाह गर्नुपर्ने जिम्मेवारीमा रहेका सार्वजनिक निकाय र सूचनाको आवश्यकता पर्ने नागरिक तहमा चेतनाको स्तर बढाउन प्रयास भइरहेको आयोगले जनाएको छ । आयोगले सही सूचना प्रवाहका लागि सामाजिक सञ्जाल, इन्टरनेट, इमेलजस्ता विद्युतीय माध्यमको सदुपयोगमा जोड दिँदै आएको छ ।
