हेटौंडा । अविरल वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेको छ । भिरालो सतहमा रहेको सो बस्तीका १५ भन्दा बढी घरपरिवारलाई जोखिमबाट जोगाउन सुरक्षित स्थानमा सारिएको छ ।
लगातारको वर्षाले जमिन गलेपछि भिरालो जमिन फाटेर ठूला-ठूला चिरा परेका हुन् । बस्ती नै भासिने र भीषण पहिरो खस्ने उच्च जोखिम बढेपछि मकवानपुर प्रहरी र स्थानीय प्रशासनको पहलमा प्रभावित परिवारहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अविरल वर्षाका कारण जमिनभित्र पानी पसेर माटो गलेकाले जमिन चिराचिरा परेको अनुमान प्रहरीले गरेको छ । जोखिमयुक्त क्षेत्रमा रहेका अन्य घरपरिवारलाई पनि सतर्क रहन र थप जोखिम देखिए लगत्तै सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
