वीरगञ्ज । गृह मन्त्रालयको निर्देशन र मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै पर्सामा तीन दिन अति भारी वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।
बिहीबार बसेको समितिको बैठकले असोज ९ देखि ११ गतेसम्म सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ अनुसारका रणनीति तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो।
समितिले बाढी, डुबान र हावाहुरीका समयमा तत्काल उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका खोज तथा उद्धार टोलीलाई आवश्यक सामग्रीसहित २४ घण्टा ‘अलर्ट’ अवस्थामा राख्ने निर्णय गरेको छ। साथै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय राखिने भएको छ।
भारी वर्षा र बाढीको जोखिम रहेका नदी तटीय तथा तल्लो भूभागमा स्थानीय तह र सुरक्षा निकायमार्फत माइकिङ, एफएम रेडियो तथा सामाजिक सञ्जालबाट मौसम र सुरक्षा सम्बन्धी सूचना प्रवाह गर्ने निर्णय पनि गरिएको छ। जोखिम अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गर्ने निर्णय भएको छ।
जोखिमयुक्त बस्तीमा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर आवश्यक परे सामुदायिक भवन, विद्यालयलगायत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको छ।
त्यस्तै, नारायणी अस्पताल, निजी अस्पताल, नर्सिङ होम तथा स्वास्थ्य केन्द्रलाई आकस्मिक उपचार, औषधि र चिकित्सकसहित तयारी अवस्थामा राख्ने तथा जिल्लाभरका एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न स्वास्थ्य कार्यालयमार्फत निर्देशन दिने निर्णय भएको छ।
भारी वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मुख्य सडक तथा हुलाकी राजमार्ग आसपासमा बाटो खुलाउन आवश्यक जेसीबी र हेभी इक्युपमेन्ट तयारी अवस्थामा राख्न डिभिजन सडक कार्यालय तथा स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरिएको छ।
बैठकले विपद्को उच्च जोखिम अवधिमा जिल्लास्थित प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालय प्रमुखहरूलाई विदामा नबस्न र जिल्ला नछाड्नसमेत आग्रह गरेको छ। विशेष परिस्थितिमा विदामा बस्नुपर्ने वा जिल्ला छाड्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीलाई पूर्वजानकारी गराउनुपर्ने निर्णय गरिएको छ।
