वीरगञ्ज । पर्साको सितलपुर जंगलमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । घटनामा मकवानपुर मनहरी गाउँपालिका–२ का ४५ वर्षीय श्याम बहादुर भुलनले ज्यान गुमाएका हुन् ।
जेठ ९ गते श्याम बहादुर आफ्ना साथीहरू भक्त बहादुर आले र श्रवण भुलनसहित कुरिलो खन्न जंगल गएका थिए । त्यही क्रममा अचानक आएको जंगली हात्तीको आक्रमणमा परेर श्यामको घटनास्थलमै मृत्यु भएको हो ।
उनका साथीहरू भने ज्यान जोगाएर भाग्न सफल भएका छन् । पर्सा प्रहरीका डिएसपी किशोर लम्सालका अनुसार घटनापछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल बीरगन्ज पठाइएको छ ।
