काठमाडौं । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी, पहिरोलगायत विपद्का घटनामा परी हालसम्म ३५ जनाको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विगत केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका ११ भन्दा बढी जिल्लाहरूमा जनधनको ठूलो क्षति पुगेको छ । विपद्मा परी हालसम्म बागलुङमा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ भने म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको ज्यान गएको छ ।
यसैगरी धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एकरएक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विपद्का विभिन्न घटनाहरूमा परी १५ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ ।
बाढी र पहिरोले देशका धेरैजसो मध्य पहाडी र हिमाली जिल्लाहरूमा सडक, पुल तथा सञ्चार सञ्जाल पूर्ण रूपमा अवरुद्ध पारेको छ । प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली स्थानीय बासिन्दासँग मिलेर निरन्तर उद्धार तथा खोजी कार्यमा खटिएका छन् ।
गृह मन्त्रालयले वर्षा अझै जारी रहन सक्ने भएकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार एक हजार ८२ परिवार प्रभावित भएका छन् । दुई सय २७ घर पूर्ण अनि एक सय ४२ घरमा आंशिक क्षति भएको छ । १० वटा पुल, ३१ वटा गोठ र ११४ पशुचौपाया क्षति भएका प्राधिकरणको तथ्याङ्क छ ।
