बारा । बारामा चट्याङ लागेर दुई फरक स्थानमा आगलागी भएको छ, जसमा लाखौंको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । बारागढी गाउँपालिका–४, सुखीपथरा बसोबास गर्ने हरिन्द्र प्रसाद कामीको कुखुरा फर्ममा बुधबार बेलुका चट्याङ पर्दा ठूलो क्षति पुगेको हो ।
पराल र टिनको छानोले बनेको उक्त फर्ममा चट्याङ लागेपछि आगलागी भई फर्मभित्र रहेका २ हजार तयारी कुखुरा, कुखुराको दाना र फर्म संरचना पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरीका अनुसार आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोग मा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ ।
यस्तै, अर्को घटना करैयामाई गाउँपालिका–८, नरहीमा पनि घटेको छ । स्थानीय अभिनाश कुशवाहाले आफ्नो कृषि मिटर जोगाउन बनाएको फुसको घरमा चट्याङ पर्दा आगलागी भएको हो । प्रहरीका अनुसार चट्याङले गर्दा घर र कृषि मिटर दुबै पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
उक्त आगलागीबाट करिब १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पछिल्लो समय चट्याङका घटनाहरू दोहोरिन थालेका छन् । मौसम बद्लिँदै जाँदा यस्ता प्राकृतिक प्रकोपको जोखिम बढेकाले सावधानी अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
