वीरगञ्ज । प्रहरीले वीरगञ्जमा अवैध रूपमा सञ्चालन गरिएको घरेलु मदिरा उत्पादन गर्ने भट्टीमाथि छापा मारेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ भिष्वाडाँडामा अवैध रूपमा सञ्चालित मदिरा उत्पादन गर्ने भट्टी तथा उपकरणहरू नियन्त्रणमा लिई नष्ट गरेको हो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थलगत जाँचका क्रममा मदिरा बनाउन प्रयोग गरिने करिब १ हजार ३०० लिटर कच्चा पदार्थ (किण्वित जाँड) तथा ३५० लिटर तयारी मदिरा फेला पारेको थियो । प्रहरीले बरामद गरेको उक्त अवैध घरेलु मदिरा र कच्चा पदार्थ घटनास्थलमै नष्ट गरेको जनाएको छ ।
मानवीय स्वास्थ्यका हिसाबले अत्यन्तै हानिकारक मानिने यस्ता घरेलु मदिरा उत्पादन, बिक्रीवितरण तथा ओसारपसार गर्ने कार्य कानुनविपरीत रहेको भन्दै प्रहरीले यसमा संलग्न नहुन कतैकराउ सचेत गराएको छ ।
साथै, कसैले पनि आफ्ना टोल–छिमेकमा अवैध मदिरा उत्पादन तथा कारोबार भइरहेको सूचना पाएमा तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । अवैध कारोबार गर्नेहरूमाथि प्रहरीले निगरानी अझ कडा बनाउँदै लैजाने जनाएको छ ।
