वीरगञ्ज । लागुऔषध ओसारपसारमा संलग्न तीन जना व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू भारततर्फ पैदल जाँदै गर्दा वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले बताए ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ का २९ वर्षीय पंचलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन् । प्रहरीको अनुसार, उनीहरू भारतको रक्सौलतर्फ शंकास्पद रूपमा गइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र ईनर्वा प्रहरी चौकीको संयुक्त टोलीले जाँच गर्दा ५ किलो ७५० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको हो ।
पंचलाल र मुकेश माझीले शरीरमा सेतो कपडाले बेरी टेपले बाँधेर गाँजा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
