काठमाडौं । भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनामा अहिलेसम्म ५ जनालाई पक्राउ गरिएको छ ।
मङ्गलबार साँझ विश्वविद्यालयका तीन निर्देशक पक्राउ परेसँगै सङ्ख्या ५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार, पक्राउ पर्नेमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिव नन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ छन् ।
यस्तै, सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पनि प्रहरी नियन्त्रणमा छन् । पक्राउ लगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको थियो । यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो ।
यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले मङ्गलबार नै गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त–सह–सचिव सम्मिलित एक उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको थियो ।
केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहारप्रति चौतर्फी विरोधपछि विश्वविद्यालयले माफी मागेको छ ।
