बारा । बाराको कलैयास्थित नवजन्म सुधार केन्द्रमा रहस्यमय एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–९, रामपुर टोलका ३४ वर्षीय धिरेन्द्र (प्रदीपप्रसाद) मण्डलको मृत्यु सुधार केन्द्रमै भएको हो ।
मृतक मण्डलका दाइ श्यामसुन्दर मण्डलका अनुसार १५ दिनअघि नशामुक्ति गराउन भर्ना गरिएका प्रदीपलाई सुधार केन्द्रमा निर्घात कुटपिट गरिएको थियो, जसका कारण उनको मृत्यु भएको आरोप लगाइएको छ ।
मृतकको खुट्टाको बुढीऔंलामा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । घटनापछि सुधार केन्द्रका एक सञ्चालकसहित ७ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बलराम क्षेत्रीले बताए ।
मृतक मण्डलको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सुधार केन्द्र कलैया–३, भवानीपुरका साहेबबाबु मन्सुरद्वारा सञ्चालित रहेको बुझिएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको छ भने परिवारले न्यायको माग गरेका छन् ।
