जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको विरोधमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ । शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाहरूले विरोधस्वरूप मसाल जुलुस निकालेका हुन् ।
भानुचौकबाट सुरु भएको जुलुस शिवचौक हुँदै जनकचौकमा पुगेर कोणसभामा परिणत भएको थियो। विरोध प्रदर्शनका क्रममा सहभागीहरूले ‘मुख्यमन्त्री सतिश सिंह मुर्दावाद’, ‘प्रदेश सरकार मुर्दावाद’ जस्ता नाराहरू लगाएका थिए ।
मसाल जुलुसमा सहभागी अक्षय यादवले आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदासमेत मधेश प्रदेशमा कुनै ठोस विकास कार्य अघि नबढेको आरोप लगाए। उनले प्रदेश सरकारले जम्मा १ प्रतिशत मात्र बजेट खर्च गरेको भन्दै मुख्यमन्त्री सिंहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।
यादवका अनुसार, मुख्यमन्त्री सिंहले विकास योजनाको कार्यान्वयन गर्नुको सट्टा निजी अस्पतालहरूको अनुगमनमा मात्र चासो देखाउने गरेका छन् । उनले यसअघि पटक–पटक ज्ञापनपत्र बुझाए पनि कुनै प्रतिक्रिया नआएपछि बाध्य भएर मसाल जुलुस प्रदर्शन गरिएको बताए । यस विरोध प्रदर्शनले प्रदेश सरकारको कार्यशैलीप्रति जनआक्रोश बढ्दै गएको संकेत दिएको छ ।
