वीरगञ्ज । पर्सामा शनिबार बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर २ मकवानी गाउँकी ३५ वर्षीया चाँदनी देवी रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।
शनिबार दिउँसो गाउँ नजिकैको सात बिघा भन्ने स्थानमा घाँस काट्न गएकी चाँदनी देवीलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो। बाघको झम्टाइबाट उनको बाँया हात र पाखुरामा गम्भीर चोट लागेको छ।
घाइते चाँदनी देवीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । घटनाबारे बताउँदै चाँदनी देवीले घाँस काटिरहेका बेला अचानक बाघले आक्रमण गरेको र गाउँलेहरू को होहल्लापछि बाघ जंगलतर्फ भागेको जानकारी दिएको थापाले बताए ।
