रौतहट । रौतहटको राजदेवी नगरपालिका-६ स्थित बागमती नदीमा सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका विद्यार्थी सुरज यादवको शव १४ घण्टापछि फेला परेको छ । वडा ७ मूडबलवाका २२ वर्षीय सुरज यादव मंगलवार साँझ पौने ७ बजे नदीमा डुबेर बेपत्ता भएका थिए ।
आफन्तले खबर गरेपछि सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको वीर दल गण रौतहट को संयुक्त टोलीले खोजी गरेको थियो । आज बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मिटर दक्षिण बागमती नदीमा उनको शव फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । मृतक विद्यार्थी स्थानीय प्रावि मूडबलवाका प्रधानाध्यापक उमेश यादवका छोरा हुन् ।
