सिरहा । सशस्त्र प्रहरी बल (एपीएफ) ले सिराहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजासहित गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ । गएराति करिब १ बजे सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिकै गागन खोलाको पुल क्षेत्रबाट ठूलो परिमाणको गाँजा बरामद गरिएको हो ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरको संयुक्त गस्ती टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार बा १४ च २९४ नम्बरको बोलेरो पिकअप गाडी र त्यसलाई स्कर्टिङ गर्दै अघि बढिरहेको स ६ प ४८५९ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोक्न खोज्दा गस्ती टोलीलाई देख्नासाथ सवारीसाधन छाडेर चालकहरू फरार भएका थिए ।
फरार चालकहरूको खोजी जारी राख्दै प्रहरी टोलीले बोलेरो गाडीको पछाडि लोड गरिएका २६ वटा जुटका बोराहरू नियन्त्रणमा लिई खानतलासी गर्दा कुल १ हजार १०२ दशमलव ६५५ किलोग्राम (११ क्विन्टल २ किलो) गाँजा फेला परेको हो ।
सशस्त्र प्रहरी बलका अनुसार बरामद गरिएको ११ सय किलो गाँजा, बोलेरो गाडी र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।
रातको समयमा नजिकैको सीमापार (भारततर्फ) तस्करी गर्ने उद्देश्यले उक्त गाँजा ओसारपसार भइरहेको हुनसक्ने अनुमान गर्दै घटनामा संलग्न तस्कर समूहको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।
