१५ असोज,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील साह कानुले वर्षौंदेखि जीर्णोद्धारको पर्खाइमा रहेको वीरगञ्जको नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहित बजेट व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कानुले वीरगन्जले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आए पनि खेलकुद पूर्वाधारका क्षेत्रमा भने उपेक्षित रहेको बताए ।
उनले देशकै दोस्रो ठूलो रंगशालाका रूपमा रहेको नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन गरेकोमा सरकारलाई धन्यवाद दिए । तर उक्त रकम मात्र पर्याप्त नहुने भन्दै आगामी ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राखेर नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि थप आवश्यक बजेट तत्काल सुनिश्चित गर्न उनले माग गरे ।
सांसद कानुले टीबी शाह क्रिकेट मैदानको निर्माण तथा स्तरोन्नतिलाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार वीरगन्जमा खेलकुद गतिविधिका लागि आवश्यक पूर्वाधारको अभाव रहेकाले उपलब्ध संरचनाको निर्माण र स्तरोन्नति तत्काल अघि बढाउन आवश्यक छ ।
त्यस्तै, नारायणी रंगशाला तथा क्रिकेट मैदानका लागि आवश्यक जग्गाको मुआब्जासम्बन्धी समस्या पनि शीघ्र समाधान गर्न उनले सरकारसँग आग्रह गरे ।
सम्बन्धित जग्गाधनीहरू सरकारले तोकेको मुआब्जा रकम लिएर जग्गा छाड्न तयार रहे पनि मुआब्जा रकम यकिन गर्नुपर्ने फाइल एक वर्षदेखि जिल्ला प्रशासन कार्यालय, पर्सामा रोकिएको उनले बताए ।
मुआब्जाको प्रक्रिया लामो समयदेखि अल्झिँदा रंगशाला तथा क्रिकेट मैदानसँग सम्बन्धित पूर्वाधार विकासको काम प्रभावित भइरहेको भन्दै कानुले उक्त विषयलाई प्राथमिकताका साथ टुंग्याउन सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राख्दै वीरगन्जका खेलकुद पूर्वाधारको विकासका लागि सरकारले आवश्यक बजेट र स्रोत सुनिश्चित गर्नुपर्ने उनको माग छ ।
