काठमाडौं । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा मंगलबार राति भागदौड मच्चिँदा १५ जनाभन्दा धेरैको मृत्यु भएको आशंका गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा अरु धेरै घाइते भएका छन् ।
गएराति साढे एक बजेतिर एक घाटमा भीड नियन्त्रणको प्रयासमा भागदौड मच्चिएको हो । घटनामा मृतक र घाइतेहरूको यकिन संख्या पुष्टि हुन बाँकी रहेको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।
महाकुम्भ मेलाको प्रमुख दिन अमृत स्नानका लागि आज मात्र दश करोडभन्दा धेरै मानिसको उपस्थिति अपेक्षा गरिएको थियो । तर भागदौडका कारण अमृत स्नान कार्यक्रम रद्द गरिएको छ ।
महाकुम्भ मेलामा भीड व्यवस्थापन गर्न सुरक्षाकर्मीले थप प्रयास गरिरहेका छन् । गएको जनवरी १३ देखि सुरु भएको यो मेलामा अहिलेसम्म १५ करोड मानिसले गङ्गा स्नान गरेको बताइएको छ ।
