काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) हरूमा सहायक कामदारका रूपमा रोजगारीका लागि ठुलो सङ्ख्यामा आवेदन खुलेको छ ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै गम्भीर अपाङ्गता भएका विभिन्न उमेर समूहका व्यक्तिहरूको स्याहारसुसारका लागि कुल एक हजार ४६४ जना नेपाली कामदारको माग भएको जनाएको छ ।
विभागका अनुसार माग गरिएका कामदारहरूमा एक हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन् । इजरायलमा आकर्षक तलब र सुरक्षित वातावरण हुने भएकाले यो अवसर नेपाली श्रमिकहरूका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।
यस रोजगारीका लागि आवेदन दिन न्यूनतम २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् । योग्य उम्मेदवारहरूले आज राति १२:०० बजेदेखि असोज २६ गते राति ११:५९ बजेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइटमार्फत आफ्नो फाराम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।
छनोट प्रक्रिया पार गरी इजरायल जाने कामदारहरूले मासिक ६ हजार ४४३ इजरायली शेकेल (मुद्रा) तलब पाउनेछन् । यसका साथै इजरायली सरकारको नियमानुसार ओभरटाइम (अतिरिक्त काम) को सुविधासमेत उपलब्ध हुने सूचनामा उल्लेख छ ।
कामदारले सातामा अनिवार्य रूपमा ४२ घण्टा काम गर्नुपर्नेछ भने हप्तामा एक दिन साप्ताहिक बिदा पाउनेछन् । वार्षिक बिदा तथा अन्य सेवा सुविधा भने इजरायल सरकारको श्रम कानुनबमोजिम हुने विभागले जनाएको छ ।
