काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन र खनिजयुक्त उत्पादनहरूको बिक्री तथा वितरणमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । आज जारी विज्ञप्तिमा मन्त्रालयले यस्ता अवैध सामग्री तथा सेवाहरू सञ्चालन नगर्न आग्रह गर्दै उल्लङ्घन गर्ने निकाय तथा व्यक्तिहरूलाई कानुनी कारबाही गरिने जनाएको छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ अनुसार शारीरिक वा मानसिक स्वास्थ्यलाई असर गर्ने गलत वा भ्रामक सूचनाका आधारमा उत्पादन र प्रचारप्रसार गर्न निषेध गरिएको उल्लेख गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वार्षिक तीन हजारभन्दा बढी फार्मेसी अनुगमन र करिब सयभन्दा बढी मुद्दा जिल्ला अदालतमा दर्ता गरिएको जानकारी दिए । उनले न्युट्रास्युटिकल्सलाई औषधिका रूपमा दर्ता नगरेको र यस्ता उत्पादन जफत तथा कारबाहीको प्रक्रिया निरन्तर रहेको बताए ।
प्रवक्ता बुढाथोकीका अनुसार यस्तो अनियमितता भेटिएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गर्न वा मन्त्रालयको वेबसाइट तथा इमेलमार्फत गुनासो गर्न सकिनेछ ।
