काठमाडौं । अष्ट्रेलियाको पश्चिमी सिड्नीस्थित अर्बनमा मंगलबार दिउँसो भएको एक मर्मस्पर्शी दुर्घटनामा तीन वर्षीया एक बालिकाको ज्यान गएको छ। नर्मनबी रोडको ड्राइभवेमा खेलिरहेकी ती बालिकालाई कारले अचानक ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।
उनलाई तत्काल उपचारका लागि वेस्टमिड अस्पताल पुर्याइए पनि चिकित्सकले बचाउन सकेनन् र केही घण्टापछि उनको निधन भएको थियो । यस दुःखद घटनापछि गाडी चालक २७ वर्षीय नेपाली युवक सन्दीप अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई उनीविरुद्ध लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको गम्भीर आरोपमा मुद्दा दर्ता गरेको छ ।
घटना भएको २४ घण्टा पनि नबित्दै बुधबार उनी बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए । अदालतमा उनले आरोप स्वीकार वा अस्वीकार गर्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन् भने उनका वकिल ड्यानी इडले यो घटना अति नै दुःखद रहेको र उनका क्लाइन्ट पनि ठूलो मानसिक तनाव तथा चिन्तामा रहेको प्रतिक्रिया दिएका छन् ।
दुर्घटनाका बेला चालक अधिकारीलाई कुनै चोटपटक नलागे पनि स्वास्थ्य परीक्षणपछि प्रहरीले उनलाई हिरासतमा राखी औपचारिक कारबाही अघि बढाएको थियो । मुद्दा हाल अदालतमा विचाराधीन रहेकाले आरोपितमाथिको आरोप पुष्टि भइसकेको छैन भने अदालतले उनलाई जमानतमा छोड्दै आगामी अक्टोबर २७ तारिखमा पुनः हाजिर हुन आदेश दिएको छ ।
