वीरगञ्ज । मलेसियामा जारी आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । माघ ५ गते शनिबार पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागे को हो । प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ । नेपालले पहिलो खेलमा बंगलादेशसँग टस हारेर सुरुमा ब्याटिङ गरेको थियो ।
बंगलादेशविरुद्ध १८.२ ओभरमा नेपाल ५२ रनमा अलआउट भएको थियो । ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् । विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् ।
समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्। नेपालको समूह चरणको अन्तिम अर्थात् तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ । पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो । स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको हो । पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन् । समूह ‘डी’मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन् ।
