वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वडा नं. १२ र १३ को सीमामा पर्ने मुर्ली चोकदेखि पूर्वतर्फ जाने सडकलाई स्तरोन्नति गर्दै १० मिटर फराकिलो बनाउनका लागि सूचना जारी गरेको छ । महानगरले सडकको केन्द्रदेखि दायाँ र बायाँ ५–५ मिटरको दायराभित्र रहेका संरचना हटाउन १५ दिनको समयसीमा तोकेको छ ।
सडक साँघुरो भएका कारण विपद्को बेला एम्बुलेन्स तथा दमकलजस्ता आपत्कालीन सवारी साधनको आवागमनमा समस्या भइरहेको भन्दै सडक विस्तारको माग स्थानीयले पटक-पटक उठाउँदै आएका थिए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जारी गरेको सूचनामा, बिना अनुमति निर्माण गरिएका संरचना हटाउन आग्रह गरिएको छ । सूचनामा भनिएको छ, “सडकको केन्द्रदेखि ५–५ मिटर भित्र पर्ने अवैध संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाइसक्न सम्बन्धित पक्षले सुनिश्चित गर्नुपर्नेछ ।”
मुर्ली चोकदेखि नेपाल आयल निगमको क्षेत्रीय कार्यालयसम्मको बाइपास सडक फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको र यो सडकको साँघुरो भाग मुर्ली चोकदेखि सबाह अन्सारीको घरसम्म मात्रै रहेको महानगरपालिकाले जनाएको छ । त्यसपछिको भाग भने यसअघि नै स्तरोन्नति भइसकेको छ ।
महानगरको सूचनामा उल्लेख गरिएको छ कि यो खण्डमा अवैध रूपमा नक्सा पास नगरी बनाइएका संरचनाहरूका कारण स्थानीय बासिन्दाले आवागमनमा असुविधा झेल्नुपरेको छ । साथै, यस्तो अवस्थाले आपत्कालीन सेवाहरू अवरुद्ध हुने भएकाले सम्बन्धित सबैलाई आफ्नै पहलमा संरचना हटाई सहयोग गर्न महानगरले अपिल गरेको छ ।
