काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप आज (शनिबार) मलेसियामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन ६ खेल खेलाइनेछ । पहिलो पटक यो फम्र्याटको विश्वकपमा सहभागिता जनाउँदै गरेको नेपालले आफ्नो पहिलो खेलमा बङ्गला देशको सामना गर्नेछ ।
नेपाल र बङ्गलादेशबीचको खेल बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ । नेपाल टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् भने बङ्गलादेशको कप्तानी सुमैया अक्तरले गर्नेछिन् ।
नेपाल र बङ्गलादेशले यसअघि गत डिसेम्बरमा मलेसियामा भएको यू–१९ एसिया कपमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । आजको खेलमा नेपालले त्यो नतिजा उल्ट्याउन खोज्नेछ ।
गत नोभेम्बरमा यूएईमा भएको एसियाली छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपका लागि स्थान सुरक्षित गरेको थियो । डबल राउन्ड रोबिन लिग प्रणालीमा भएको छनोट प्रतियोगितामा नेपालसहित चार टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपालले तालिकाको शीर्ष स्थान हासिल गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।
यू–१९ महिला विश्वकपमा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलङ्का, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सी’मा न्युजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’मा नेपालसहित स्कटल्याण्ड, बङ्गलादेश र अस्ट्रेलिया रहेका छन् ।
