जनकपुर । मधेश प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदैछ। अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गर्दै यो दिवस मनाइँदै आएको छ। यसबारे मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।
बलिदानी दिवसको मुख्य कार्यक्रम जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक प्रतिष्ठानमा आयोजना गरिनेछ। यसका साथै जानकी मन्दिरमा सहिदहरूको सम्झनामा १ लाख दीप प्रज्वलन गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
दिवसलाई थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसदहरूले सहिद परिवारलाई थप सेवा सुविधा उपलब्ध गराउन छुट्टै कानुन बनाउनुपर्ने सुझाव दिएका छन्।
प्रदेश सांसद कुमार कान्त झाले सहिदहरूको सपना अझै पूरा नभएको उल्लेख गर्दै अधिकारका विषयमा अहिले पनि विभेद कायम रहेको धारणा व्यक्त गरे। उनले प्रदेश बनेको सात वर्ष बितिसक्दासमेत कर्मचारी व्यवस्थापन गर्ने अधिकार प्रदेशसँग नरहेको र यो सहिदहरूको सपनाविपरीत रहेको औंल्याए।
सांसद जिवछी यादवले सहिदहरूको सूचीमा त्रुटि रहेको बताउँदै केही वास्तविक सहिदहरूको नाम छुटेको बताए। उनले छुटेका सहिदहरूको नाम तत्काल समावेश गर्नुपर्ने सुझाव दिए। साथै, सहिद परिवारका सदस्यहरूलाई राजस्वमा सतप्रतिशत छुटको व्यवस्था गर्नुपर्ने धारणा राखे।
सांसद श्याम पटेलले सहिद परिवारलाई आजीवन व्यवस्थापन हुने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। उनले सहिद परिवारलाई स्वास्थ्य सेवा, शिक्षा, र यात्रा निःशुल्क उपलब्ध गराउन कानुन बनाउन आवश्यक रहेको बताए।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले अन्तरक्रिया कार्यक्रममा सहभागीहरूको सल्लाह र सुझावलाई ध्यानमा राख्दै बलिदानी दिवस भव्यताका साथ मनाइने र सहिद परिवारका लागि थप सेवा सुविधाको कानुनी व्यवस्था गरिने आश्वासन दिए।
२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागेर मृत्यु भएपछि मधेशमा आन्दोलन सुरु भएको थियो। सो घटनालाई सम्झनाका लागि पूर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
