काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान स्यान्टिल्लीस्थित विन्डम होटल परिसरमा कार पोखरीमा खस्दा कर्ण खड्का र उनका नातेदार निश्चल भट्ट को मृत्यु भएको हो ।
कार पार्किङ क्षेत्रबाट चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खस्दा दुर्घटना भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्गटनले जनाएको छ । भिडियो फुटेजमा कारको अगाडिको भाग पानीमा डुबेको देखिएको छ । अत्यधिक चिसो मौसम र उद्धारमा भएको ढिलाइले उनीहरूको मृत्यु भएको बताइएको छ ।
कर्ण खड्का भर्जिनियाको विन्डम होटलमा हाउसकिपिङ काम गर्थे । उनले आफ्ना भान्जा नाता पर्ने निश्चल भट्टलाई पनि सोही होटलमा काम लगाउन ल्याएका थिए । कर्ण खड्का आफ्नी श्रीमती, छोरी, र ज्वाइँसँग अमेरिका बस्दै आएका थिए, भने निश्चल को परिवार नेपालमा रहेको छ ।
