वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित बंकुल खोलाको बगरमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय हिरालाल महतोले बगरमा छोरी शिशुलाई जीवित अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी रङपुर टाडीका सहायक निरीक्षक रामबाबु यादवको टोलीले शिशुलाई सुरक्षित रूपमा उद्धार गरी हिरालाल महतो को जिम्माबाट आफ्नो निगरानीमा राखेको छ । प्रहरीले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप स्वास्थ्य सुरक्षाका लागि वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा थप अनुसन्धान अघि बढाइएको छ । शिशुको पृष्ठभूमि, फालिनुको कारण, र यस घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाले स्थानीय क्षेत्रमा चासो र चिन्ता बढाएको छ। स्थानीय बासिन्दाले शिशुको भविष्य सुरक्षित गर्न र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।
