वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बीपी उद्यानको अतिक्रमित जग्गामा निर्माण गरिएका अवैध संरचनाहरू हटाउन सुरु गरेको छ । महानगरले दुई पटकसम्म सूचना जारी गर्दा पनि अडिग रहेका कारण संरचनामा डोजर चलाउन बाध्य भएको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिए ।
महानगरले पहिलो पटक मंसिर १६ गते १५ दिनको सूचना जारी गरेको थियो । उक्त अवधिमा जग्गा खाली नगरेपछि दोस्रो पटक पुस १२ गते ७ दिनको सूचना जारी गरिएको थियो । पटक–पटकको ताकेतापछि पनि जग्गा खाली नगरेकाले अन्ततः महानगरले डोजर चलाउनु परेको मेयर सिंहले बताए ।
आइतबारदेखि सुरु भएको अभियानको दोस्रो दिन सोमबार पनि बाँकी रहेका संरचनाहरूमा डोजर चलाइएको छ । हालसम्म महानगरले दुई दर्जनभन्दा बढी घरटहराहरू हटाइसकेको छ । महानगरपालिकाका जनसम्पर्क प्रमुख नवराज फुयालका अनुसार क्रमशः सम्पूर्ण उद्यान क्षेत्रको अवैध संरचना हटाइनेछ।
संरचना हटाइसकेपछि पहिलो चरणमा बाटो पुर्ने काम थालिने जनाइएको छ । अवैध रूपमा उद्यान क्षेत्रमा निर्माण गरिएका संरचनाहरूमा दलित परिवार बस्दै आएका थिए । उनीहरूले महानगरले जाडो याममा व्यवस्थापन नगरी संरचना भत्काएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
