काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का नवमनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज (शुक्रबार) हुँदैछ ।
गत असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले पार्टी विधानको व्यवस्था अनुसार ३३ जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो। मनोनीत सदस्यहरूलाई आज दिउँसो ३:०० बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथ ग्रहण गराइने कार्यक्रम तय भएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार शपथ ग्रहणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
विधान अनुसार मनोनीत भएका ३३ जना केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), हरि रिजाल (प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (इलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौँ), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरूङ (मनाङ), प्रेम दङ्गाल (काठमाडौँ), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाडौँ), पुष्पराज श्रेष्ठ (सिन्धुली), विमला घिमिरे (कपिलवस्तु), शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) रहेका छन् ।
यसैगरी, विभिन्न राजनीतिक दलबाट एमालेमा समायोजन भई केन्द्रीय सदस्यमा समेटिने नेताहरूमा मोहम्मद इस्तियाक राई (बाँके), प्रदीप यादव (पर्सा), अब्दुल हुसैन अंसारी (सुनसरी), डिबी कार्की (स्याङ्जा), भवानी खापुङ (तेह्रथुम), दीपक साउद (अछाम), जय गोले तामाङ (काठमाडौँ), धर्मराज निरौला (सुनसरी), रवि चामलिङ (खोटाङ), विनोद पहाडी (रुपन्देही), श्रीप्रसाद शर्मा (बागलुङ), रामप्रीत राम (सिराहा) र ध्रुव विष्ट (भक्तपुर) रहेका छन् ।
सोही केन्द्रीय कमिटी बैठकले पार्टीको शीर्ष सांगठनिक संरचना मानिने स्थायी कमिटीमा समेत ७ जना वरिष्ठ नेताहरूलाई मनोनीतरचयन गरेको थियो ।
स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल (काठमाडौँ), प्रदीप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) रहेका छन् । आज हुने शपथ ग्रहण समारोहसँगै नवमनोनीत नेताहरूले आफ्नो विभागीय र सांगठनिक जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नेछन् ।
